काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध नै जेनजी आन्दोलनको प्रमुख कारण भएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीका कारण युवामाझ नैराश्यता फैलिएको उल्लेख गरे । ‘सरकारको नेतृत्वमा रहनेहरू परिवारवादमा लिप्त हुँदा युवाहरू आन्दोलित भए, ’पोखरेलले भने ।
उनका अनुसार संवैधानिक आयोग र राज्यका निकायमा क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा आक्रोश थपिएको हो ।
पोखरेलले जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी र वैदेशिक शक्तिहरूको घुसपैठ भएको आशंका पनि व्यक्त गरे । उनले भने, ‘सरकार सामाजिक सञ्जालमार्फत नै अलोकप्रिय हुँदै गइरहेको थियो । आफ्ना कर्तुतहरू पर्दाफास हुन थालेपछि सरकारलाई त्यो कुरा पचेन र प्रतिबन्ध लगाइदियो । यही सबैभन्दा ठुलो गल्ती थियो, जसको प्रतिक्रिया स्वरूप युवा सडकमा निस्किए ।’
उनका अनुसार आन्दोलनको मूल उद्देश्य व्यवस्था फाल्ने नभई भ्रष्टाचार र परिवारवाद अन्त्य गर्ने थियो । तर, आन्दोलनलाई सरकारले गोली चलाएर दमन गर्दा बाह्य शक्तिहरूले अवसर पाए ।
पोखरेलले मुलुक अहिले राजनीतिक शून्यतामा रहेको भन्दै पार्टी संगठनलाई बलियो बनाएर जनतामाझ जाने माओवादी केन्द्र दृढ रहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया