संविधान दिवस : कतै उत्सव, कतै कालो दिन !

लोकपथ
959
Shares

काठमाडौं । देशमा घटेको हालैको घटना र विषय परिस्थितिका बिच पनि संविधान दिवस मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सरकारका तर्फबाट संविधान दिवस मनाइयो । जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै राष्ट्रपति भवन शीतल निवासमा समेत राष्ट्रपति पौडेलले विशेष कार्यक्रम आयोजना गरी संविधान तथा राष्ट्रिय दिवस मनाए । जहाँ विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१० वर्षअघि अर्थात् २०७२ साल असोज महिनाको ३ गते देशले नयाँ संविधान पाएको थियो । त्यसअघि ६ वटा संविधान देशले पाए पनि वर्तमान संविधान नै जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बनाएको पहिलो संविधान बन्न पुग्यो । दुईपटक संशोधन भए पनि संविधान सर्वस्वीकार्य नभएको भन्दै निरन्तर आलोचना भइरहेको छ ।

त्यसो त यसअघि गत ०८१ साल असार ३१ मा बनेको एमाले–कांग्रेस गठनबन्धनको सरकारले संविधान संशोधनलाई नै मुख्य मुद्दा बनाएका थिए । एमाले कांग्रेसबिच भएको ७ बुँदे सहमतिको मुख्य बुँदा नै संविधान संशोधन बनेको थियो । तर सरकार गठन भएको एक वर्ष भन्दा बढी समय हुँदा समेत सबैको माग मुद्दा समेटिने गरी संविधान संशोधनको तयारी नभएपछि भने खासगरी मधेशवादी दलहरु रुष्ट बनेका थिए । सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुक नै फरक परिस्थिति सिर्जना हुन पुग्यो ।

संविधान दिवसका अवसरमा शुक्रबार कतै भव्य समारोह मनाइरहँदा कतै भने कालो दिवस रहेका भन्दै आलोचना र प्रदर्शनहरु भए ।

देशभर विषम परिस्थितिमा संविधान दिवस मनाउँदा धनुषाको जनकपुर धाममा भने लोकतान्त्रिक मोर्चाले कालो दिनको रुपमा मनाएको छ ।

जनकपुरधाममा संविधान अपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरु जनक चोकमा जम्मा भएर प्रदर्शन गर्दै कालो दिन मनाएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव परमेश्वर साहले संविधानमा रहेका कमी कमजोरी, विभेदकारी दफाहरु संशोधन हुनुपर्छ हाम्रो माग रहँदै आएको बताए ।

उनले मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको साझा संविधान हुने गरी संविधानमा परिमार्जन नभएसम्म आन्दोलन जारी रहने बताए । पछिल्लो समयमा जेनजी आन्दोलनको क्रममा पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने, सुशासन कायम गर्नुपर्ने, युवाका कुराहरु समेटिनुपर्ने माग उठेको थियो, ती मागहरु पनि संविधानमा समेटिनुपने बताए ।

त्यसो त ०७२ सालमा संविधान जारी भएकै दिन तराईमा ठूलो विरोध प्रदर्शन समेत भएको थियो । सो दिनलाई स्मरण गर्दै जनतामाथि ताकिताकि गोली चलिरहेको समयमा अपूर्ण संविधान जारी गरिएकाले संविधान अझैसम्म अपनाउन नसकेको जनता समाजवादी पार्टी, नेपालका नेता जितेन्द्र यादवले बताए ।

साथै उनले युवा पुस्ताको पछिल्लो जेनजी आन्दोलनले समेत यो संविधान अपूर्ण रहेको कुरा फेरी प्रमाणित गरेको बताए ।

त्यसो त तराईमा मात्र होइन काठमाडौंमा समेत केही व्यक्ति र समूहले संविधान दिवसकै दिन कालो दिवसका रुपमा मनाएका छन् ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले निर्वाचन गराउने र वर्तमान परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी पाए पनि संविधान संशोधन समेत होस् भन्ने चाहिरहेका छन् । जेनजी आन्दोलनका क्रममा सरकार बन्न नसकेको संक्रमणकालिन अवस्थामा वर्तमान संविधान नै खतरामा पर्ने पो हो कि भन्ने संशय समेत उत्पन्न भएको थियो । तर राष्ट्रपति पौडेलले ‘बढो जुक्तिका साथ संविधानको रक्षा’ गरेको भन्दै त्यसलाई जोगाउन र घोषित मितिमा निर्वाचन हुने वातावरण बनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?