काठमाडौं । मासु हामी सबैलाई मनपर्ने मध्येको एक परिकार हो । मासु एकातिर स्वादको लागि त खाइन्छ नै, त्यसको साथसाथै स्वास्थ्यका लागि समेत लाभदायक हुने गर्दछ । तर त्यसलाई प्रयोग गर्ने तरिकामा भर पर्दछ ।
मासुमा प्रोटिन, भिटामिन र खनिज तत्त्व जस्ता शरीरलाई चाहिने आवश्यक पोषणत्व पाइन्छन् । तर, यसको मात्रा, प्रकार र कसरी खाने भन्ने कुरा बुझेर मात्रै खाने नगरेमा भने स्वास्थ्यलाई फाइदाभन्दा बढी हानी गर्न सक्छ ।
हामी प्रायः भैँसी, खसी–बोका, कुखुरा, हाँस, बंगुरदेखि माछासम्मको मासुको प्रयोग गर्दछौँ ।
यी सबैको मासुमा पोषक तत्त्व हुन्छन्, तर सबै मासु समान हुँदैनन् । मासुलाई बोसोले जेलेको हुन्छ । यदी कम बोसो भएको मासु भएमा त्यसले शरिरका लागि फाइदा दिने गर्दछ ।
मेडिसिटी अस्पतालमा कार्यरत पोषणविद् डा. रुजु खड्काका अनुसार मासु उच्च गुणस्तरको प्रोटिनको राम्रो स्रोत हो । मासु सेवन गर्दा शरीरलाई सजिलै सोसिन सक्ने प्रोटिन पाइन्छ, जसले स्नायु, मांसपेशी र शरीरका अंगहरूलाई स्वस्थ राख्छ । साथै, मासुमा आइरन, जिंक, भिटामिन बी–१२ लगायतका आवश्यक तत्त्व पाइन्छन्, जुन ऊर्जा उत्पादन, रक्त निर्माण र शरीरको रोग प्रतिरोधात्मक क्षमताका लागि जरुरी हुन्छन् ।
यदी मासुलाई तरिका मिलाएर खान जानिएन भने चाँही फाइदा भन्दा बढी बेफाइदा निम्तिन सक्छ ।
‘मासु सेवन गर्दा शरीरलाई सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन पाइन्छ । साथै, मासु केही आवश्यक भिटामिन तथा खनिज तत्वको राम्रो स्रोत हो,’ खड्काको तर्क छ ।

उनका अनुसार नेपालजस्तो कुपोषण बढी देखिने मुलुकमा माछा, मासु र अण्डा दीर्घकालीन समाधानका उत्तम स्रोत हो । तर, मासु खाने पनि तरिका हुन्छ । कुन रोगीले, कुन समयमा, कति मात्रामा रातो वा सेतो कुन मासु खाने भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ ।
‘तरिका पुर्याएर खान जानेनौँ भने फाइदाभन्दा बढी समस्या निम्तिन्छ,’ डा.खड्का भन्छिन् ।
उनका अनुसार विशेष गरी बोसोयुक्त मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मासु जुनै प्रकारको भए पनि अत्यधिक मात्रामा सेवन गर्दा हानी पुर्याउने बताइन् ।
यसैगरी खसी, राँगा आदीको रातो मासु सबैका लागि लाभदायी नहुने पोषणविद् खड्काको तर्क छ ।
‘रातो मासु खानै नहुने भन्ने होइन । तर, मुटु रोग वा उच्च कोलेस्ट्रोलका समस्या भएका व्यक्तिले यसलाई कम मात्रामा वा नखाने,’उनले भनिन् ।
डा. खड्काका अनुसार खसी र राँगाको मासुमा उच्च मात्रा बोसो हुने भएकाले मुटुरोग र उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि हानिकारक हुन्छ ।
उनले भनिन्, ‘बोसोयुक्त रातो मासुको अत्यधिक सेवन मुटुरोग र उच्च रक्तचाप बढाउने खतरा राख्छ। त्यसैले यी बिरामीहरूले रातो मासु सीमित मात्रामा मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।’
उनका अनुसार कुखुरा र माछाको मासु रातो मासुभन्दा स्वास्थ्यका लागि लाभदायी हुन्छ र मुटुरोग तथा उच्च रक्तचाप भएका बिरामीका लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ ।
मासु सेवन गर्दा सन्तुलित आहार अपनाउन र सिजनअनुसार माछा तथा कुखुरा खानको मासु खानुपर्ने उनको तर्क छ ।
(मेडिसिटी अस्पतालमा कार्यरत पोषणविद् डा.रुजु खड्कासँग कुराकानीमा आधारित ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया