काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । जेनजी आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो । बैठकले यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय समिति बैठक दसैँअघि नै बोलाउने निर्णय समेत गरेको छ ।
जेनजी प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा आज पहिलोपटक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो ।
जेनजी आन्दोलनका क्रममा घाइते भएकाले बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित थिए ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको विषय उठान गरेका थिए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवापुस्ताको भावनाको सम्मानका लागि नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने उनीहरूको धारणा थियो ।
महामन्त्रीद्वयले तत्काल नेतृत्व परिवर्तन गरी युवापुस्ताको आवाज सुनवाइ नगर्ने हो भने पार्टीको भविष्य नै जोखिममा पर्ने चेतावनी दिएका थिए ।
तर, बैठकको अध्यक्षता ग्रहण गरेको उपसभापति खड्काले पार्टीको केन्द्रीय समिति बैठकमा जे निर्णय गरे पनि एकमत भएर कार्यान्वयन गर्ने र पार्टी एक ढिक्का बनाउने प्रस्ताव गरेपछि बाँकी सदस्यहरूले महामन्त्रीको प्रस्तावमा भाग नलिएको बताइएको छ ।
उता, कांग्रेस बैठकले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
‘आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय गरेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया