जोगिएका समानबाट हेटौँडा यातायात कार्यालयले सेवा सञ्चालन गर्ने

लोकपथ
112
Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको हेटौँडा यातायात व्यवस्था कार्यालय जोगिएका सामान प्रयोग गरी सेवा सञ्चालनको तयारीमा छ।

आगजनीले कार्यालयको भुइँतला र माथिल्लो तला पूर्ण रूपमा नष्ट गरिसकेको भए पनि पहिलो तला सुरक्षित रहेको छ।

कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार सुरक्षित कोठामा राखिएका टेबल–कुर्सी प्रयोग गरी तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। उनकाअनुसार, आगजनीबाट करिब ७० हजार सेवाग्राहीका फाइल जलेर नष्ट भएका छन् ।

भुइँतलामा भएको खरानी सफा गर्ने काम भइरहेको छ भने पहिलो तला र कार्यकक्षमा सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।

विद्युत्, इन्टरनेट र खानेपानीको जडान क्षतिग्रस्त भएकाले तत्काल मर्मत भइरहेको छ। प्रमुख श्रेष्ठले भने, ‘विद्युत् र इन्टरनेट जडान सकिएपछि दर्ता, नवीकरण र रोड प्रमिट लगायतका सेवाहरू सुरु गर्ने योजना छ। आवश्यक कागजात छपाइ र विद्युतीय सामान खरिदको काम पनि भइरहेको छ।’

प्रारम्भिक अनुमान अनुसार आगजनीबाट करिब १ करोड २० लाख मूल्य बराबरको क्षति भएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?