काठमाडौं । अब विदेशमा बस्ने नेपाली र नेपाल आउने पर्यटकले राजश्व तिर्न सजिलो हुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले राजश्व व्यवस्थापन सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसँग जोडेर नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा उक्त अन्तरआवद्धता सेवा शुभारम्भ गरेका छन् । यससँगै मास्टर कार्ड, भिजा कार्ड, अलिपे लगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजश्व भुक्तानी गर्न सकिने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार सेवा प्रारम्भिक चरणमा अध्यागमन विभागमार्फत सुरु गरिएको हो । अब विदेशमा रहेका सेवाग्राही वा नेपाल भित्रिने पर्यटकले भिसा शुल्क लगायतका अध्यागमनसम्बन्धी राजश्व एयरपोर्टमै कार्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।
‘अन्तर आबद्धता सुरु भएपछि सेवाग्राहीले नगदरहित, व्यक्तिरहित र कागजरहित ढंगले चौबिसै घण्टा सेवा लिन सक्नेछन्, प्रवक्ता लामिछानेले बताए ।
उनका अनुसार यो प्रणालीले पारदर्शी, द्रुत र सेवाग्राहीमैत्री भुक्तानी वातावरण निर्माण गर्नेछ । साथै डिजिटल इकोनोमी प्रवर्द्धनमा समेत योगदान पुग्ने सरकारी विश्वास छ ।
हाल अध्यागमन विभागमा मात्र लागू भएको यो सेवा आगामी दिनमा सरकारका अन्य निकायमा पनि विस्तार गर्ने योजना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया