काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार माओवादी केन्द्रले विगतमा थुप्रै कमी कमजोरी गरे पनि आत्म समीक्षा गर्दै सुधारको बाटो लिएको छ । उनले भने, ‘कम्तीमा पनि इतिहास र वर्तमानको समीक्षा गरेर हेर्दा माओवादी केन्द्रले बिचमा कमजोरीहरू गरेको स्विकार्छ तर हामी फरक छौँ, अरू जस्तै होइनौँ । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरू जस्तै हो भन्ने भाष्य बनाउन खोजे पनि त्यो सत्य होइन ।’
दाहालले जनभावना कसरी सम्बोधन गर्ने भन्नेबारे नेतृत्व सजग रहेको उल्लेख गर्दै, आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न नेतृत्व तयार रहने स्पष्ट पारे । अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिँदै भविष्यमा अझ राम्रो बनाउने गोरेटो कोर्ने संकल्प व्यक्त गर्दै उनले निराश नहुन आह्वान गरे ।
‘हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्नेछौँ । संविधानमार्फत स्थायित्व र विकासका लागि आवश्यक संशोधन गर्ने तयारीमा पनि छौँ । आगामी निर्वाचनको वातावरण बनाउन सबैले मेहनत गर्नुपर्छ, ‘दाहालले भने ।
अध्यक्ष दाहालले संविधान, स्थायित्व र विकासका निम्ति माओवादी केन्द्र अग्रसर हुने पुनः पुष्टि गर्दै पार्टीलाई फरक धातुले बनेका मान्छेहरूको पार्टीका रूपमा प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया