काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीतिक शक्तिहरूबिच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग गरे ।
उनले देशमा यति ठुलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद् असफल भएको पुष्टि हुने जिकिर गरे । संसद् पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको बताए । अहिलेको जेनजी विद्रोहले ल्याएको सबैभन्दा ठुलो परिवर्तन पुस्तान्तरण भएको बताए ।
राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेनजीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ ।
उनले भने, ‘यो सरकारले सबै राजनीतिक शक्तिहरूका बिचमा एउटा नयाँ समझदारी कायम गरेर देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी बनाउनैपर्दछ । त्यो नै मुलुकको विकास हो । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो पहिलो पार्टी हो, जसले यो संविधानले काम गरेन, यो संविधानले यो देशको समस्या समाधान गर्न सक्दैन, यो संसद्को पनि औचित्य समाप्त भयो । किनभने देशमा यति ठुलो समस्या आउँदा संसदले निकास दिन सकेन । संसद् देश बर्बादीको साक्षी मात्रै बन्न थाल्यो, यसको औचित्य छैन भनेर राजीनामा दिएको राप्रपाले यही संसद् पुनः स्थापनाको परिकल्पना गर्दैन । संसद् पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो । अहिलेको जेनजी विद्रोहले ल्याएको सबैभन्दा ठुलो परिवर्तन भनेको पुस्तान्तरण हो । नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ ।’
अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रबल बनेको बताए । उनले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभई भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको बताए । चाँडै नेपाली जनताले महसुस गरेर राजसंस्थालाई अभिभावकीय रूपमा पुनः स्थापित गर्नेमा आफू विश्वस्त रहेको बताए । सबै शक्तिहरूका बिचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने बताए ।
अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरूले राजीनामा दिने बताए । प्रदेश सभा खारेज भएर जानुपर्ने बताए । एउटा सरकार परिवर्तन गर्ने कुरा मात्रै आन्दोलनको उद्देश्य नभएको बताए । अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको बताए । अहिलेको सरकारले आँट गरेर जेनजी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया