झनै सामाजिक सञ्जालमा व्यस्त बने हर्क साम्पाङ : मिनेटमिनेटमा ‘स्ट्याटस’

लोकपथ
3.1k
Shares

काठमाडौं । सधैँ चर्चामा रहन्छन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ।

गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मेयर निर्वाचित भएपछि अन्य जनप्रतिनिधिभन्दा उनी फरक देखिए । उनले श्रमदान सुरु गरे, निर्वाचनका बेला गरेको बाचा अनुसार जनतालाई खानेपानीको सुविधा पुर्‍याउन लागिपरे । वर्षौैँदेखि खानेपानीबाट विमुख बनेको धरानमा हर्कको उपस्थितिले जनताले खानेपानी पाए । उनी हरेक विकास निर्माणको काममा श्रमदानलाई नै मुख्य मान्छन्, अभियान चलाउँछन् । उनी अरुलाई मात्र होइन आफैँ पनि श्रमदानमा खटिन्छन्, माइकीङ गर्दै हिँड्छन् । यो त भयो उनको जनप्रतिनिधिले गर्नुपर्ने कामको पाटो ।

उनको अर्को पाटो रोचक छ, त्यो भनेको सामाजिक सञ्जालको सक्रियता । श्रम संस्कृतिलाई उचाइमा पुर्‍याएर थप चर्चामा रहेका साम्पाङ सामाजिक सञ्जालमा अति नै व्यस्त रहन्छन् । उनीमाथि आउने हरेक प्रतिक्रियालाई निगरानीमा समेत राख्छन् र त्यहाँ प्रतिक्रिया समेत जनाइहाल्छन् । खरो र घमण्डी स्वभावका साम्पाङको सामाजिक सञ्जालमा आफ्नै शैली छ, आफ्नै तरिका छ ।

देशमा जेनजी आन्दोलनपछि केही दिन संक्रमणकाल जस्तो देखियो । वर्तमान सरकारले घुँडा टेकिसकेको तर नयाँ सरकार गठन नहुँदा मुलुक थप अप्ठेरो बाटोमा पो जाने हो कि भन्ने संशय पैदा भएको थियो । यही बिचमा जेनजीको प्रतिनिधिका रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ अघि आउने चर्चा चल्यो । तर बालेन सामाजिक सञ्जालमा लेख्ने बाहेक बाह्य उपस्थिति नभएपछि एकाएक अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चर्चा हर्क साम्पाङको चुलियो । जेनजी आन्दोलनलाई समर्थन गरेर धरानमा नै रहेका उनी एकाएक काठमाडौं आए । उनी प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालयमा पुगे । उनका पक्षमा नाराबाजी भयो, प्रधानसेनापतिसँग भेटे । तर उनको पक्षमा माहोल नबनेपछि निराश हुँदै पुनः धरान नै फर्किए । हरेक विषयमा सामाजिम सञ्जालमा प्रतिक्रिया जनाइहाल्ने हर्क यस विषयमा पनि निरन्तर सामाजिक सञ्जालमा पोखिन थाले ।

अहिले पहिले भन्दा हर्कको सामाजिक सञ्जालमा सक्रियता बढेको छ । उनी मिनेटमिनेटमा स्ट्याटसमार्फत् आफ्ना असन्तुष्टिहरु पोखिरहेका देखिन्छन् । खासगरी बालेनले आफू अघि नआइ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेपछि भने हर्क झनै चिडिए ।

त्यसपछि उनी बालेनप्रति कटाक्ष गर्न लागे । उनले बालेनलाई कोठामा बसेर स्ट्याटस लेखेर हुँदैन भन्दै कटाक्ष गरिरहे । बालेनले हर्कलाई आफूलाई जति नै घृणा गरेपनि आफूले चोखो माया गरिरहने भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाए । त्यसपछि बालेनमाथि विभिन्न आरोप लगाउँदै हर्क खनिइरहेका छन् । अहिले घण्टामै धेरैवटा स्ट्याटस लेखेर उनले हरेक विषयमा प्रतिक्रिया जनाइरहेका छन् ।

उनी निरन्तर सामाजिक सञ्जालमा छाइरहने कारणले अहिले उनको प्रतिक्रियालाई मजाकको रुपमा समेत लिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?