काठमाडौं । नेपालले ९८औँ ‘अस्कर अवार्ड’मा प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘अञ्जिला’लाई चयन गरेको छ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने उक्त अवार्डको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’लाई सिफारिस गरेको जानकारी दिएको छ ।
छनोट समितिका अध्यक्ष विमल पौडेलका अनुसार प्राप्त चलचित्रमध्ये विषयवस्तु, कलात्मकता र चलचित्रले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय गरिएको हो ।
उनले भने, ‘चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।’
चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बा सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले स्वयं अभिनय गरेको चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्रमार्फत नेपालमा खेलाडी सुब्बाको संघर्ष र सफलताको कथा प्रस्तुत गर्न पाएकोमा गौरव व्यक्त गरे ।
उनले भने, ‘नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, त्यसैले खेलाडी सुब्बाको जीवनी र संघर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ। यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा प्रस्तुत गर्छ र अरूका लागि प्रेरणाको स्रोत बन्नेछ ।’
चलचित्रमा अञ्जिला सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको ‘अञ्जिला’ले करिब ९ करोडको व्यापार गर्न सफल भएको थियो ।
नेपालको तर्फबाट ‘अञ्जिला’को चयनले देशको चलचित्र क्षेत्र र महिला खेलाडीको संघर्षपूर्ण यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया