काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा पार्टीको नाम लिँदै उदण्डता मच्चाउनेलाई कारबाही गर्ने बताएको छ ।
अन्य राजनीतिक दलका कार्यालय र सरकारी सम्पत्तिमा समेत रास्वपामा आवद्ध व्यक्तिहरु लागेको आरोपपछि रास्वपाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति नै जारी गरेर अवान्छित गतिविधिमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
खासगरी रास्वपा र सभापति रवि लामिछानेप्रति निरन्तर समाचार प्रकाशन गरेको भन्दै केही सञ्चारमाध्यममा समेत तोडफोड र आगजनी भयो । त्यहाँ रास्वपा समर्थित मान्छेहरु रहेको आरोपपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो ।
‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ,’ प्रवक्ता मनिष झाले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया