‘शीर्ष नेताहरूको कारण लोकतन्त्र असफल, अब राजीनामा दिनुपर्छ’

लोकपथ
469
Shares

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठुला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेका नेताहरूको असफलता जनआन्दोलनले पुष्टि गरिसकेको छ । उनले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा उत्रिनु नै उनीहरूको असफलताको प्रमाण भएको जिकिर गरे ।

आचार्यले भने, ‘कांग्रेस र एमालेको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा पनि राजीनामा बुझाउनुपर्ने हो, तर त्यो भएन । आन्दोलनमा टेकेर यत्रो अपराध, तोडफोड, हत्या भएको छ । उनीहरू पूर्ण रूपमा राजकाज चलाउन असफल भए ।’

उनले सत्ता बाहिर रहेर पनि जनसमर्थन गुमाएको माओवादी नेतृत्वलाई समेत कठोर रूपमा आलोचना गर्दै भने, ‘पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा पनि अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व छोड्न सकेका छैनन् । लोकतन्त्र उनीहरूको नेतृत्वमा असफल भएको हो ।

आचार्यले तीनै ठुला दलका नेताहरूलाई अब आफ्नै असफलता स्वीकार गरी स्वेच्छाले बिदा दिन आग्रह गरे । उनका अनुसार पार्टी कार्यकर्ताले सचेत भएर शीर्ष नेताहरूलाई बिदाइ नगरे लोकतन्त्र थप संकटमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?