काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि त्यही मौका छोपेर कारागार छाडेर भाग्ने कैदीहरु फर्किनेक्रम जारी छ ।
भदौ २४ गते जेनजी आन्दोलन उग्र बनेपछि देशभरका जेल छाडेर झण्डै १४ हजार कैदी भागेका थिए ।
यसैक्रममा म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ २५ गते बिहान तोडफोड गरी ७६ जना कैदीबन्दी भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १४ जनाबाहेक सबै कारागार फर्काइएको जानकारी दिनुभयो । फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ ।
काठमाडौंबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै भागेका थिए ।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन, २०७९ बमोजिम मुद्दा चलाइएको छ । बेनी नगरपालिका–२ खबराका २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा–१ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनील थापामगर, ३१ वर्षीय सुशन थापामगर र १९ वर्षीय अभिषेक परियार हाल प्रहरी हिरासतमा छन् ।
यता रसुवा कारागारबाट भागेका कैदीहरु पनि कारागार फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका हुन् ।
गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भने केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ छन् । साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया