हितेन्द्रलाई ऊर्जामन्त्री कुलमानको सन्देश : ‘समय र जनताको आवाज बुझेर मार्गप्रशस्त गर्नुस्’

लोकपथ
10.3k
Shares

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मार्गप्रशस्त गर्न भन्दै सन्देश पठाएका छन् ।

जेनजी पुस्ताको माग र समय बुझेर मार्गप्रशस्त गर्न उर्जामन्त्री घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई सन्देश पठाएका हुन् । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङको भनाइ छ । 

शाक्य जेनजी आन्दोलनअघि नै सरकारी कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी आजै स्वदेश फर्किँदै छन् । 

२०८१ चैतमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई हटाउने निर्णय गरेको थियो ।

साढे चार महिना कार्यकाल बाँकी रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको ठाउँमा शाक्यलाई नियुक्त गरेका थिए ।

व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई हटाएर शाक्य नियुक्त गरेपछि ओली सरकारको चर्को आलोचना भएको थियो ।

त्यस बेला घिसिङले निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?