भिमादबाट धनुषा जाँदै गरेको सेनाको ट्रक चुरियामाई नजिकै दुर्घटना, तीन जनाको अवस्था चिन्ताजनक

लोकपथ
4.4k
Shares

काठमाडाैं । हेटौंडा नजिकै रहेको चुरियामाई क्षेत्रमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।

मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकै भएको दुर्घटनाका ६ जना घाइतेलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

दुर्घटनामा १६ जना घाइते भएकामा चिन्ताजनक अवस्थामा रहेका तीन जना र अन्य तीन गरी ६ जनालाई हेलिकोप्टरबाटै उपचारका लागि काठमाडौं ल्याइएको छ । 

प्रवक्ता बस्नेतका अनुसार नियमित तालिमका लागि नेपाली सेना बोकेर उक्त ट्रक तनहुँको भिमादबाट धनुषातर्फ जाँदै थियो ।

उपसेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा तालिमका लागि गएको ४ वटा ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक चुरियामाई नजिकै दुर्घटनामा परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?