हर्क साम्पाङको लगातारको ‘आक्रमण’पछि मेयर बालेनको प्रतिक्रिया : ‘डियर म तिमीलाई माया गर्न छाड्दिन’

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा ‘स्ट्याटस’ पोस्ट गरेका छन् । 

पछिल्ला दिनमा साम्पाङले बालेनप्रति असन्तुष्टि जाहेर गरिरहेका बेला उनले यस्तो स्ट्याटस पोस्ट गरेका हुन् । जसमा उनले भनेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

साम्पाङ प्रधानमन्त्री बन्न धरानबाट काठमाडौं आएका थिए । उनले प्रधानसेनापतिसँगको छलफलमा पनि आफ्नो चाहना प्रकट गरेका थिए । तर त्यसमा बालेनले आफूलाई सहयोग नगरेको उनको बुझाइ छ । उनी अहिले धरान फर्किसकेका छन् ।

उनी काठमाडौं रहेकै बेला एक जना सञ्चारकर्मीले साम्पाङलाई ‘तपाईं बालेनलाई प्रधानमन्त्री स्वीकार गर्नुहुन्छ ?’ भनेर सोध्दा उनले त्यसको जवाफमा आफै प्रधानमन्त्री बन्ने पनि बताएका थिए । 

पछिल्ला केही दिनयता साम्पाङले बालेन लक्षित स्ट्याटसहरू लगालग लेखिरहेका छन् । काठमाडौंबाट धरान गइसकेका उनले एक पत्रकार भेटघाटमा अपुष्ट आरोप लगाउँदै बोलेका थिए, ‘यो सरकार गठनमा एकजना गेमर छ । त्यही गेमरले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्छ ।’

हिजो मात्रै पनि साम्पाङले एउटा स्ट्याटस लेखेका थिए । जसमा भनेका छन्,  ‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा । हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु । तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् । सक्छस् ?’

यस स्ट्याटसको कमेन्टमा साम्पाङका समर्थकहरूले आक्रामक नहुन, आवेगमा नआउन र सम्हालिन सुझाव दिएका छन् । तर, उनी यतिमै रोकिँदैनन्, दुई घण्टाको अन्तरालमा फेरि अर्को स्ट्याटस लेख्छन्, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् !’

आज बिहान पनि उनले बालेन्द्र लक्षित अर्को स्ट्याटस लेखे, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ । लिडर भनिँदैन ।’

काठमाडौं महानगरका मेयर साहले यसअघि स्ट्याटस लेखेरै साम्पाङलाई सम्झाउन खोजेका थिए । उनले साम्पाङको नाम उल्लेख नगरी लेखेका थिए, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने–तपाईंहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।’

तर साम्पाङको लगातारको स्ट्याटसले उनी बालेनसँग झनै रिसाएको देखिन्छ । 

बालेनको आजको स्ट्याटसप्रति मिश्रित प्रतिक्रिया आइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?