देशलाई नष्ट गर्ने काम नगरौँ : गृहमन्त्री अर्याल

लोकपथ
714
Shares

काठमाडौं । गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।

गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको अनुगमन गर्दै देशलाई नष्ट गर्ने काम कसैले गर्नु नहुने बताएका छन्  । सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको उल्लेख गर्दै उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडि बढ्ने बताए ।

उनका अनुसार तत्काल भौतिक पुनःनिर्माणभन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्नुपर्ने समय आएको छ । उनले भने, ‘हामी नेपाली हौँ, यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन भए पनि व्यहोर्नैपर्छ, त्यहीबाट उठ्ने हो । त्यस कारण केही कुरामा धैर्यता राख्नुपर्छ । देशलाई नष्ट पार्ने काम कसैले गर्नु हुँदैन । जसले गरिरहनुभएको छ, त्यो बेठिक हो । सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति ध्वस्त पार्नु अपराध हो ।

उनले क्षतिग्रस्त कार्यालयको मूल्याङ्कनका लागि कार्यदल गठन हुने जानकारी दिए । सो कार्यदलको प्रतिवेदनका आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने योजना रहेको उनले बताए ।

मन्त्री अर्यालले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने बताए । क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गर्ने जानकारीसमेत उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?