काठमाडौं । युनिटी लाइफ इन्टरनेसनलमा ठगिएकाहरूलाई आफ्नो दाबी पेस गरी रकम फिर्ता लिन अन्तिम पटक एक महिनाको सूचना जारी भएको छ । ललितपुर जिल्ला अदालतले मंगलबार तेस्रो पटक सूचना जारी गर्दै रकम फिर्ताका लागि निवेदन दिन भनेको हो ।
ललितपुर जिल्ला अदालतको तहसिल शाखाले मंगलबार तेस्रो पटक सूचना जारी गर्दै आफूले जम्मा गरेको रकमको दाबी प्रमाणसहित रकम फिर्ताका लागि निवेदन दिन एक महिनाको सूचना जारी गरेको हो । एक महिनाभित्र ललितपुर जिल्ला अदालतको तहसिल शाखा वा देशको जुनसुकै जिल्ला अदालतको तहसिल शाखामार्फत जम्मा गरेको रकमको प्रमाणसहित दाबी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
तेस्रो पटक जारी भएको सूचनामा एक महिनाको अवधिभित्र पनि रकम दाबी नगरे फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था अनुसार हुने भन्दै उक्त रकम सरकारकै हुने ब्यहोराको सूचना जारी गरिएको हो ।
पहिलो पटक गत भदौ १७ गते सूचना जारी भएकामा दोस्रो पटक पनि सूचना जारी गरिएको थियो । फैसलामै तीन पटक राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गर्न भनिए बमोजिम अदालतले तेस्रो पटक अर्थात् अन्तिम पटक भदौ ३१ गते सूचना जारी गरेको हो ।
२०८२ भदौ १७ गते प्रथम पटक सूचना प्रकाशन भएकामा तेस्रो पटक भदौ ३१ गते सूचना प्रकाशन गरिएको हो । प्रकाशित सूचनामा दिनेशकुमार भण्डारी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी काशीराम गुरुङ समेत भएको ठगी मुद्दामा सर्वोच्च अदालतको मिति २०८२ वैशाख २ गतेको फैसला अनुसार युनिटी लाइफ इन्टरनेसनल लिमिटेड, ललितपुरका नाममा रकम जम्मा गर्ने सबै सरोकारवालाहरूलाई रकम फिर्ताका लागि दाबी पेस गर्न भनिएको छ । म्याद सकिएपछि निवेदन प्राप्त भएमा दर्ता नहुने समेत सूचनामा उल्लेख छ ।

युनिटी लाइफ इन्टरनेसनलको ठगी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि पीडितहरूलाई न्याय दिलाउने प्रक्रियाका रूपमा यो सूचना जारी भएको हो ।
युनिटी लाइफ इन्टरनेसनलको ठगीसम्बन्धी यो मुद्दा सर्वोच्च अदालतमा करिब ७ वर्ष अगाडि आइपुगेको थियो । काशीराम गुरुङ लगायतले युनिटी लाइफ इन्टरनेसनल लिमिटेडको नाममा सामान्य बिमा व्यवसायको आड लिई आकर्षक प्रतिफलको आशा देखाएर ठुलो रकम ठगी गरेका थिए । सोही मुद्दामा गुरुङ लगायतका व्यक्तिहरू जेलमा समेत बसिसकेका छन् ।
सर्वोच्च अदालत आइपुगेको यो मुद्दामा अदालतले २०८२ वैशाख २ गते अन्तिम फैसला सुनाउँदै पीडितलाई रकम फिर्ता गर्नुपर्ने र युनिटीको सम्पत्ति बेचेर फिर्ता गर्ने भनेको थियो ।
युनिटी लाइफ इन्टरनेसनलले सुनियोजित ढंगले ठगीको योजना बनाएको थियो । कम्पनीले आकर्षक विज्ञापन मार्फत विभिन्न योजनाहरू सार्वजनिक गरेको थियो । कम्पनीको निशानामा वृद्ध वृद्धा, गृहिणी र साना व्यवसायीहरू परेका थिए । कम्पनीले आफ्नो योजनाहरूमा मासिक रूपमा रकम जम्मा गर्न लगाएर वार्षिक रूपमा ३० देखि ४० प्रतिशतसम्मको उच्च प्रतिफल दिने भन्दै रकम उठाएको थियो ।
कम्पनीले केही समयका लागि प्रतिफल दिएको जस्तो पनि गरेको थियो । तर उक्त प्रतिफल व्यापारको नाफाबाट नभई सदस्यहरूबाटै उठाएको पैसाबाट दिइएको थियो, जसको उद्देश्य अन्यलाई पनि सदस्य बन्न प्रेरित गर्ने र सदस्यको सङ्ख्या बढाउनु रहेको थियो । तर पछि युनिटीले प्रतिफल दिन बन्द गरेको थियो भने रकमसमेत फिर्ता गर्न छाडेको थियो । युनिटीले युनिटी अस्पतालका नाममा आफ्नै अस्पताल खोलेको थियो भने हवाईजहाजसम्म ल्याएर चलाउने सपना बाँडेको थियो । पछि ठगी गरिएको रकमसहित सञ्चालकहरू फरार भएपछि मात्रै पीडितहरूले आफू ठगिएको थाहा पाएका थिए ।
अरूलाई समेत सदस्य बनाएर कमाउन सकिने प्रलोभन समेत दिएको यो ठगी प्रकरणमा पिरामिड शैलीको ठगी गरिएको थियो । यो ठगीमा ३ लाख ६८ हजारभन्दा बढी व्यक्तिहरू पीडित भएका थिए जसमा न्यूनतम १० हजार रुपैयाँबाट रकम उठाइएको थियो र यो ठगी २०६२।६३ बाट सुरु भई २ वर्षसम्म चलेको थियो । यामे ठगी योजनामा पीडित भएकाहरूले आफ्नो जीवनभरको कमाई, पेन्सनको रकम र कतिपयले ऋण लिएर समेत यहाँ लगानी गरेका थिए ।
पीडितहरूले रकम फिर्ताका लागि आफूबाट ठगी भएको रकम र त्यसका प्रमाणहरू पेस गर्नुपर्ने छ । जसमा नागरिकता वा अन्य त्यस्तै कागजात, युनिटी लाइफमा रकम जम्मा गरेको रसिद वा कागजात, बैंकबाटै लेनदेन गरेको भए त्यसको प्रमाण आदि पेस गर्नुपर्नेछ । यसअघि प्रहरी प्रतिवेदनमा उल्लेख भएका पीडितहरूको रकम र विवरण समेत प्रमाणका रूपमा प्रयोग हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया