कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ

लोकपथ
140
Shares

झापा । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका सात जना कैदी पक्राउ परेका छन् । भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र अर्की २८ वर्षीया एकसरा खातुन आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।

यस्तै, कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरमै लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयको सूचनाका आधारमा सोरेन पक्राउ परेका हुन् ।

त्यसैगरी, नेपालबाट भागेर भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नामक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी केचनास्थित इलाका प्रहरी कार्यालयमा बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको खुलेको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको प्रहरीले जनाएको छ । बाँकी दुई जना सुन्धारा कारागारबाट भागेका कैदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?