भागेका कैदीहरूबाट न्यायाधीशलाई धम्की आइरहेको छ : न्यायाधीश मल्ल

जनताले न्यायको आवश्यकता बुझे भने हामी आफै सुरक्षित अनुभूत गर्छौँ

लोकपथ
24.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीहरूबाट न्यायाधीशलाई धम्की आइरहेको बताएकी छिन् । जेनजीको प्रदर्शनपछि भागेका कैदीका कारण न्यायाधीशमाथि सुरक्षा खतरा बढेको मल्लले बताएकी हुन् ।

सोमबार काठमाडौं जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकनपछि लोकपथसँग संक्षिप्त कुराकानी गर्दै न्यायाधीश मल्लले न्यायाधीशहरूमाथि धम्की आइरहेको बताइन् । आइतबार देशैभरका न्यायाधीशसँग भर्चुअल बैठकमा सहभागी भएपछि न्यायाधीशहरुले आफूमाथि धम्की आएको जानकारी दिएको मल्लले बताइन् ।

मल्लले भनिन्, ‘अहिले त कैदी नै बाहिर छन् । कैदीले अदालत जलाउने काम गरे अनि अहिले न्यायाधीशहरूलाई धम्की समेत आइराखेको स्थिति छ । अहिले नयाँ सरकार आएको छ, अब सुरक्षाको व्यवस्थामा हामी विश्वस्त छौँ कि सरकारले त्यसको व्यवस्था पक्कै गर्नेछ ।’

मल्लले आफूहरूको वास्तविक सुरक्षाकबज भनेको जनता नै रहेको समेत बताइन् । जब जनतालाई न्याय आवश्यक पर्छ र उनीहरूले न्यायको आवश्यकता बुझ्छन्, त्यति बेला आफूहरूले सुरक्षित महसुस गर्नेसमेत मल्ले बताइन् ।

उनले भनिन्, ‘न्यायपालिकाको सुरक्षा भनेको जनता नै हो । जनताले नै एउटा जनताको धन, जनताका लागि खडा भएको निकायको सुरक्षामा आउनुपर्छ । तपाईँहरूको सम्पत्ति, तपाईँहरूको न्यायको एउटा ठाउँ, आशाको धरोहर; यसको सुरक्षा तपाईँले नै दिनुपर्छ । तपाईँले न्यायको आवश्यकता बुझ्नुभयो भने हामी आफै सुरक्षित भएको अनुभूति गर्नेछौँ ।’

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै काठमाडौं जिल्ला अदालतको अवलोकनमा आएकी मल्लले ध्वस्त भएका भौतिक संरचनाबाट सेवा सञ्चालन गर्न चुनौती भए पनि आफूहरू छिट्टै पूर्ण क्षमतामा सेवा दिने गरी लागिपरेको बताइन् ।

मल्लले भनिन्, ‘यो मात्रै होइन, १७-१८ वटा अदालत ध्वस्त भएका छन् । अदालतलाई अगाडि बढाउन आवश्यक भौतिक संरचना, आवश्यक मिसिल तथा कम्प्युटरहरूसमेत धेरै कुरा ध्वस्त भएका छन् । तर त्यति हुँदाहुँदै पनि हाम्रो न्यायपालिका जीवित छ, हाम्रा न्यायाधीश र कर्मचारीहरू कटिबद्ध छन्, प्रतिबद्ध छन् । यस्तो दुखद अवस्थामा पनि घरघरबाट आएर भत्किएको, जलेको मिसिलहरूलाई के कति बचाउन सकिन्छ भनेर लागिरहनु भएको छ । त्यसैले न्यायपालिका जीवित छ । हामी पूर्ण क्षमतामा छिट्टै नै सञ्चालन गरेर देखाउँछौँ ।’

मल्लले तत्काल आवश्यक रहेको र न्यायका पहुँचका लागि आवश्यक बाटाहरू खुला गरिसकेको बताइन् । उनले भनिन्, ‘हामीले एकदमै आवश्यक पर्ने तत्कालको एउटा न्यायको पहुँचको बाटाहरू चाहिँ सुरु गरिसकेका छौँ । बन्दी प्रत्यक्षीकरण, रिट आदि दर्ता थालिसकेका छौँ र छिट्टै हामी जीवित भएर देखाउनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?