काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनगर्ठनका लागि आफू पद छाड्न तयार रहेको बताएका छन् ।
उनले अहिले पार्टीले जे गरिरहेको छ त्यसले पार्टीलाई अघि बढाउन नसक्ने भन्दै पार्टीको आमूले सुधारका लागि पदीय जिम्मेवारी छाड्न समेत तयार रहेको बताएका हुन् ।
‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ। जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ । हामीले अहिले जे र जसरी गरिरहेका छौँ त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन । पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौँ । गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौँ,’ उनले भनेका छन् ।
त्यस्तै महामन्त्री थापाले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका छन् ।
उनले लोकतान्त्रिक दल भएको नाताले वर्तमान सरकारले आह्वान गरेको निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका नेता कार्यकर्ताहरुले मनन गर्नुपर्ने भन्दै ६ बुँदे सुझाव राखेका छन् ।
‘आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौँ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया