काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छानिछानी अदालत जल्नुमा आफूहरूको पनि गल्ती हुनसक्ने भएकाले आत्म समीक्षा गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालत भवन पुगेर राउतले न्यायाधीशहरुलाई यस्तो आग्रह गरेका हुन् ।
सोमबार अपराह्न काठमाडौं जिल्ला अदालतको मुख्य भवनको अनुगमनमा पुगेका राउतले छानिछानी अदालतका भवन र कागजात जलाउनुमा कतै तपाईँ हामी नै कारक त होइनौँ भन्दै न्यायाधीश र कर्मचारीप्रति प्रश्न गरेका हुन् । राउतले कतै अदालतले गर्ने आदेश र न्यायाधीशहरूको फैसलाले नै यस्तो असन्तुष्टि ल्याएको हो कि अन्य कारण हुन सक्छन् भनेर समेत सोधेका छन् ।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, मुख्य रजिस्ट्रार विमल पौडेल लगायतलाई लिएरै जिल्ला अदालत पुगेका राउतले न्यायाधीश र कर्मचारीको सम्बन्धमा बढी गुनासो आउने गरेको भन्दै अब कुनै गुनासो नआउने गरी काम गर्न निर्देशनसमेत दिए । उनले भने, ‘कतै न्याय सम्पादन गर्दा तपाईँहरूकै पनि गल्ती छ कि ? कतै अनियमितता पो भयो कि ? छानिछानी अदालत जल्नुमा कतै हाम्रो पनि गल्ती पो छ कि ? त्यस कारण अब आत्म समीक्षा गर्दै आफूलाई सुधार गर्नुहोस् ।’
प्रधानन्यायाधीश राउतले यो कठिन परिस्थितिमा सबैले एकजुट भएर काम गर्नुपर्ने भन्दै पूर्ण क्षमतामा काम गर्न निर्देशन दिए । साथै बन्दी प्रत्यक्षीकरण, म्याद थप लगायतका दैनिक गर्नुपर्ने कार्यमा कुनै ढिलासुस्ती नगरी काम गर्नसमेत निर्देशन दिएका छन् ।
अहिले इन्जिनियरको प्रारम्भिक निरीक्षणपछि भवनमा रातो स्टिकर टाँसेर बस्न नमिल्ने घोषणा गरिएको छ । यसपछि अब अर्को निरीक्षण तथा प्राविधिक विश्लेषणपछि मात्रे उक्त भवन बस्नका लागि योग्य रहेको वा नरहेको सम्बन्धमा यकिन हुने छ ।
काठमाडौं जिल्ला अदालतको मुख्य भवनको अभिलेख शाखामा आगो लगाउँदा त्यहाँ रहेका ५ लाख २० हजारभन्दा बढी अभिलेख जलेर नष्ट भएका छन् ।
त्यसै गरी फाँट नम्बर ९, १३ र २१ मै पुगेर प्रदर्शनकारीले आगो लगाउँदा त्यहाँ रहेका सबै मिसिलहरू नष्ट भएका छन् । फाँट नम्बर ९ मा ६० किलो सुन तस्करी तथा फाँट नम्बर १३ मा नक्कली भुटानी शरणार्थी लगायत मुद्दाका फाइलहरू रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया