काठमाडौं । हालै देशव्यापी रुपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सरकारलाई अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरेको छ ।
संघले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नाडाले अटोमोबाइल उद्योगलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षामा चुनौती थपिएको र उपभोक्ता विश्वासमा नकारात्मक असर परेको संघले जनाएको छ ।
विज्ञप्तिमा ‘शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सवीच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ’, भनिएको छ ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनेको सन्दर्भमा संघले शुभकामना दिँदै छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सरकार सफलतापूर्वक पूरा गर्ने विश्वास समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया