काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) नयाँ भवनबाट अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ ।
मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक क्षति भए पनि नयाँ भवन भने सुरक्षित रहेको छ । मन्त्रालयको चारतले भवनसहित फर्निचर, महत्त्वपूर्ण कागजात, कम्प्युटर र परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले भने, ‘हाल एनएचआरसीको नयाँ भवनबाट नियमित काम सुरु गर्ने योजना छ। अहिले मन्त्रीका लागि कोठा तयार पारिँदैछ। पछि सिंहदरबारभित्रै सर्ने योजना छ ।’
आगलागीका कारण दैनिक कामकाजमा समस्या आएको सचिव देवकोटाले बताए । मन्त्रालय अहिले क्षतिको विवरण संकलन गर्दै मुचुल्का उठाउने काम गरिरहेको छ भने कर्मचारीहरू रजिष्टरमा हाजिरी गरिरहेका छन् ।
त्यसैगरी, मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया