काठमाडौं । सरकारले वर्तमान परिस्थिति र चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । यस समितिको संयोजन यातायात व्यवस्था विभागका महानिर्देशकले गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आज बैठकपछि जानकारी दिँदै समितिको गठनसहित छ बुँदे निर्णय गरिएको बताए । बैठकमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
समितिले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच गर्ने, आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने र यात्रुहरुलाई गन्तव्यसम्म सहज यात्रा सुनिश्चित गर्न आवश्यक व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन तथा कार्यालयको उचित क्षतिपूर्ति प्रक्रियालाई अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि आवश्यक सामग्री उपलब्ध गराउने र लुटपाट गरिएका हतियार तथा सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई जानकारी दिँदै यस पहलले यात्रुहरुलाई चाडपर्वमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया