प्रधानमन्त्री कार्कीको प्रश्न : सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

लोकपथ
980
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यन्त आवश्यक सरकारी संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन् ।

सिंहदरबारमा आइतबार पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आगजानी हुँदा महत्त्वपूर्ण कागजातहरू नष्ट भएको उल्लेख गर्दै यस्तो घटना देखेर आफूलाई लाज लागेको बताइन् ।

प्रधानमन्त्री कार्कीले प्रश्न गरिन्, ‘नेपाली भएर कसैले यस्तो काम गर्छ ?  सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?’ उनले यस किसिमको घटना पहिलो पटक भएको पनि बताइन् ।

उनले आगजानी पूर्व तयारीअनुसार भएको आशंका व्यक्त गर्दै भौतिक क्षति पुरा गर्न सकिए पनि महत्त्वपूर्ण दस्ताबेजहरू अब पाउन नसकिने बताइन् । साथै अनुसन्धान गरेर दोषीलाई कारबाहीमा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘यो मुलुकका अत्यन्त आवश्यक संस्थाहरूमा छानीछानी प्रहार भएको छ । प्रहरीका चौकी, अदालतका फाइलहरू, सिंहदरबारभित्रका पुराना कागजातहरू सम्पूर्ण नष्ट भए । मलाई यो देखेर लाज लागेको छ। यो घटना पूर्व तयारीअनुसार भएको षड्यन्त्र जस्तो देखिन्छ। दोषीहरूलाई अनुसन्धान गरी कडा कारबाही गर्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले प्रहरीका बिटहरू, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा भएको आगजनीले देशलाई गम्भीर क्षतिमा पुर्‍याएको जानकारी दिइन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरमा आगजानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?