काठमाडौं । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको घोषणा गरिन् ।
सुमनाले ह्वाट्सएप ग्रुपमा म्यासेज पठाएर राजीनामाको घोषणा गरेकी हुन् । यद्यपि रास्वपाले त्यसबारे निर्णय भने लिइनसकेको रास्वपाका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।
‘उहाँको राजीनामा ह्वाट्सएप ग्रुपमा आएको छ । कारण कुनै खुलाइएको छैन । हामीले त्यसबारे निर्णय लिइसकेका छैनौँ । छलफलकै प्रक्रियामा छौँ,’ ती पदाधिकारीले लोकपथसँग भने ।
यता सुमना हालै गठित अन्तरिम सरकारको मन्त्री बन्ने समेत तयारी रहेको छ । त्यसो त शुक्रबार राति प्रधानमन्त्रीको शपथग्रहण समारोहमा समेत सुमना पुगेकी थिइन् ।
त्यसबारेमा भने ती पदाधिकारीले कुनै कुरा बताएनन् । उहाँ मन्त्री बन्ने चर्चा रहेको छ यहीबिचमा पार्टी छाड्नुभएको हो कि ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘उहाँ अब पार्टी चाहिन्न भनेर राजीनामा दिन तयार भएको मान्छेको आगामी बाटो के हुन्छ हामीलाई थाहा हुने कुरै भएन,’ ती पदाधिकारी भन्छन् ।
वर्तमान घटनाक्रम र सरकार नबनिसकेको अवस्थामा रास्वपाभित्र फरकफरक निर्णय आएका कारण असन्तुष्टि बढिरहेको थियो । कतिपय नेताहरुले पार्टीको निर्णयविरुद्ध समेत आक्रोश व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया