काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले २४ घण्टामै सरकारलाई मात्रै गिराएर विरासत ठानिएको राजनीतिक दलको संसद्लाई पनि तहसनहस पारिदियो । सुरुमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार नियन्त्रणको माग गर्दै भएको प्रदर्शन पछि सत्ता परिवर्तन र अपदस्थसम्मको अवस्थामा आएर टुंगियो ।
प्रदर्शनका क्रममा खरबौँको सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भयो, जसको भरपाई गर्न राज्यलाई कैयन् वर्ष लाग्नेछन् । देशभरका कारागारबाट कैदी बन्दी भागे जो गम्भीर प्रकृतिको अपराधमा समेत मुछिएकाहरू छन् । उनीहरूबाट प्रहरी प्रशासन, न्यायाधीश र र समाजलाई नै ठूलो सुरक्षा चुनौती बढेको छ ।
समाजमा शान्ति सुव्यवस्था कायम गर्न पलपल चाहिने प्रहरी र प्रहरी कार्यालय छिन्नभिन्न छन्, सबैभन्दा पहिले त्यसको पुनर्स्थापना अत्यावश्यक छ । समाजमा सबैभन्दा ठूलो कुरा शान्ति नै हो, किनभने राति सुत्दा कमसेकम कुनै अपराध भएमा प्रहरी आइपुग्छ भन्ने विश्वास र प्रहरीले सुरक्षा दिन्छ भन्ने मनोबल हुनै पर्छ ।

आन्दोलनमा के के भयो भन्ने कुरा अब बिर्सिएर धूलो टकटकाएर उठ्नको विकल्प छैन । तर त्यो भन्दा पहिले आन्दोलन किन र के का लागि अनि कसको कारणले भयो भन्ने बुझ्नै पर्छ ।
हो, यो आन्दोलन कुनै व्यक्तिमाथिको मात्रै थिएन, नेतृत्वको अहम्, बढ्दो भ्रष्टाचार र स्वेच्छाचारिताविरुद्धको प्रदर्शन थियो । कुनै राजनीतिक दलमा सर्वोच्च पदमा पुगेपछि लालपुर्जा लिए जसरी नाम नै लेखाएर टाँसिरहने र सार्वजनिक सम्पत्ति र पदमा दोहन गरिरहने प्रवृत्तिको विरुद्ध थियो ।
अझ स्पष्टरुपमा भन्ने हो भने प्रमुख राजनीतिक दलका शीर्ष नेताको रजगज र अराजकताविरुद्धको प्रदर्शन थियो । किनभने एकै नेता ५ पटक प्रधानमन्त्री बन्ने, आफूले चाहेको जस्तो नभए संसद् नै विघटन गर्ने, पटक पटक आसेपासे, झोले र चम्चेहरुलाई राजनीतिक तथा संवैधानिक नियुक्ति, लाभको पद आदि दिने र लुटिरहने प्रवृत्तिविरुद्धको आन्दोलन थियो ।
याे आन्दोलन राजनीतिक दलका पहिलो पुस्ताविरुद्धको आन्दोलन थियो, जसले आफ्नो पार्टीलाई कब्जा गरेर जमिनको लालपुर्जा झैँ सधैँ आफैँसँग राखिरहने दुस्साहस गरेका थिए ………
हो, मुख्यतः याे आन्दोलन केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका राजनीतिक दलका पहिलो पुस्ताविरुद्धको आन्दोलन थियो, जसले आफ्नो पार्टीलाई कब्जा गरेर जमिनको लालपुर्जा झैँ सधैँ आफैँसँग राखिरहने दुस्साहस गरेका थिए । पार्टी भित्रै वा बाहिर उनीहरूको विरुद्धमा कुनै आवाज आएमा जसरी हुन्छ दबाउनुपर्छ भन्ने मानसिकता बोकेर ती आवाज दबाउन कारबाहीको डन्डा बर्साउने नेतृत्वप्रतिको आक्रोश थिए ।

सौभाग्य मान्नुपर्छ, नेताका घरघर जलेर खरानी बन्दा पनि भेटिएका नेताहरूको अवस्था पनि गद्दाफी बन्नु परेन । किनभने प्रदर्शनकारीले नेताहरूको जीवन बक्सिसमा दिए, अप्रिय घटना भएन । यद्यपि सामाजिक सञ्जालहरूमा ‘कुकुर र तपाईँमा के फरक छ ?’ भन्नेसम्मको प्रश्न गरेर अति लज्जाको अवस्थामा पुराउनु भनेको उनीहरूप्रतिको आक्रोश हो, दलीय अहंकार, अराजकता र अव्यवस्थाविरुद्धको विस्फोट हो ।
जेनजी कुनै राजनीतिक दल होइन, उनीहरूले चाहेको आफूहरू सत्तामा जान पनि होइन ……
जेनजी कुनै राजनीतिक दल होइन, उनीहरूले चाहेको आफूहरू सत्तामा जान पनि होइन । तर आन्दोलनको उद्देश्य भनेको चरम राजनीतिकरण, भ्रष्टाचार आदिको निराकरण, उनीहरूको सम्पत्तिमाथिको छानबिन थियो, जुन नयाँ सरकारले गर्नै पर्छ ।
र, कुरा रह्यो, राजनीतिक नेतृत्व वा दलको परिवर्तन ।
हो, अहिलेको सबैभन्दा ठूलो माग वा आक्रोश भनेको मर्ने बेलासम्म पनि पद नछाड्ने र अक्सिजन लगाएर भए पनि सत्तामा बसिरहनुपर्ने प्रवृत्ति अन्त्यको हो । किनभने ठूला राजनीतिक दलका शीर्ष नेताहरू पटक पटक सत्तामा जानुपर्ने, लिसो टाँसिएझैँ टाँसिरहनुपर्ने र सत्ता नछाड्ने प्रवृत्तिमा छन् । उनीहरूलाई केवल सत्ता र शक्ति चाहिएको छ, आफन्त, झोले र चम्चेहरुलाई लाभको पद दिएर हालीमुहाली गर्नु छ । त्यसैको विद्रोहका लागि भएको यो आन्दोलन र त्यही आन्दोलनको बलमा भएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प दलसँग छैन ।
यो भनेको के हो भने कम्तीमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजीनामा दिएर पार्टी र सरकारबाट बिदा हुनुपर्छ । होइन, राजीनामा दिँदैनन् भने दोस्रो वा तेस्रो तहका नेतृत्वले पार्टीबाट गलहत्त्याएर भए पनि बिदा गर्नुपर्छ । अनि दाग लागेकाहरूलाई बिदा गरेपछि आफू पनि सच्चिएर दलको नेतृत्वमा आउनुपर्छ । किनभने राजनीतिक दलबिनाको निर्वाचन वा स्पष्ट नीतिबिनाको संसद्ले देशलाई सही दिशा दिन सक्दैन । सबै स्वतन्त्र वा नेतृत्वविहीन हुँदा अर्को नेतृत्व झनै अराजक, उछृंखल र जिम्मेवारीविहीन बन्न सक्छ ।
त्यस कारण राजनीतिक दलकै आवश्यकता यस कारण छ भन्ने बुझाउँदै आफूलाई परिवर्तित गराई पुनः उठ्ने साहस गर्नुपर्छ । मरेको सिनो बोकेर हिँड्यो भने फेरि पनि डुङडुङती गन्हाउने बाहेक अरू केही हुँदैन । त्यस कारण अब सिनो बोकेर हिँड्न छाडेर नुहाई धुवाई गरी आफूलाई सफा गरेर हिँड्नुपर्छ ।
मरेको सिनो बोकेर हिँड्यो भने फेरि पनि डुङडुङती गन्हाउने बाहेक अरू केही हुँदैन ………
यो सरकार संविधानसम्मत छैन । तर यो सरकार कसरी संविधानसम्मत छैन भनेर कुतर्क गरिरहने होइन, बरु यो सरकार किन र कसरी बन्यो भनेर लज्जा बोध गर्ने बेला हो । किनभने संविधान र कानुनले ठिक ढङ्गले काम नगरेपछि वा त्यसलाई नमानेपछि मात्रै विद्रोह हुने हो । विद्रोहले नयाँ संविधान वा कानून बनाउन सक्छ भन्ने कुरा बिर्सनुहुँदैन । त्यस कारण यो अन्तरिम सरकारलाई स्वीकार गरेर निर्वाचनमा जानुको विकल्प प्रमुख राजनीतिक दलसँग छैन ।
जनताले यो भन्दा बढी क्षति चाहेका छैनन्, तत्काल अर्को आन्दोलन वा विद्रोह चाहेका छैनन् ……..
फेरि पनि लोकतन्त्र, संविधानवाद र कानुनी शासनको वकालत गर्दै आन्दोलनको घोषणा गरियो भने राष्ट्रका लागि त्यो भन्दा ठूलो क्षति अरू केही हुनै सक्दैन । जनताले यो भन्दा बढी क्षति चाहेका छैनन्, तत्काल अर्को आन्दोलन वा विद्रोह चाहेका छैनन् । जनताले यही विद्रोहमार्फत लोकतान्त्रिक विधिबाट नयाँ सरकार खोजिरहेका छन्, जनपक्षीय सरकार र दल खोजिरहेका छन् । किनभने जेनजी कुनै राजनीतिक दल नभएर उमेर समूह हो र त्यो उमेर समूहमा मुख्यतः यिनै ठूला राजनीतिक दलमा आस्था राख्नेकै छोराछोरी छन् । त्यस कारण जेनजीहरुले आफ्ना बुवा र आमालाई दलको झोले र चम्चे बनेकामा गिज्याइरहँदा अब उनीहरू सुध्रनुको विकल्प छैन ।
त्यस कारण राजनीतिक दलले आफ्नो अस्तित्व जोगाइरहने हो भने अब आन्दोलन होइन, निर्वाचन रोज्नुपर्छ त्यो पनि सच्चिएर । त्यस कारण फेरि पनि आन्दोलन रोजेर सक्किने कि निर्वाचन स्वीकार गरेर स्पष्ट एजेन्डासहित आएर सच्चिने, त्यो दलकै निर्णयमा भर पर्ने कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया