काठमाडौं । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज आइतबार ( विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ ।
दूतावासले भनेको छ, ‘यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ, हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।’
अमेरिकाले पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । ‘अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ,’ दूतावासले भनेको छ ।
उता, राष्ट्रपति कार्यालयमा शपथ ग्रहण सम्पन्न भएको केही घण्टामै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्की नेतृत्वको सरकार गठनप्रति स्वागत व्यक्त गरेको थियो । भारतले नयाँ नेतृत्वले नेपालमा राजनीतिक स्थिरता र शान्ति कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिसकेको छ । उसको विज्ञप्तिमा भनिएको छ, ‘भारत छिमेकी मात्र नभई नेपालको लोकतान्त्रिक साझेदार र दीर्घकालीन विकास सहयात्री हो । दुवै देश र जनताको हितका लागि भारत सधैँ सहकार्य गर्न तयार छ ।’
भारतीय पक्षले नेपाल–भारत सम्बन्धलाई ‘नजिकको सहकार्य र साझा भविष्य’का रूपमा चित्रण गरेको छ । दिल्लीले नेपालको लोकतान्त्रिक अभ्यासलाई समर्थन गर्ने र नयाँ अन्तरिम सरकारमार्फत अघि बढ्ने प्रक्रियामा सकारात्मक भूमिका खेल्ने संकेत गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया