रेशम चौधरीले खोले नयाँ पार्टी, भन्छन्– ‘पार्टीमा डाक्टर, इन्जिनियर र कानुनविद् प्रशस्तै छन्’

लोकपथ
2.5k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन् । सामाजिक सञ्जालमार्फत आज आइतबार बिहान आफूले पार्टी छाडेको उनले घोषणा गरेका हुन् ।

उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम गरेको पार्टीसमेत घोषणा गरेका छन् । टीकापुर नरसंहार घटनापछि डिल्लीबजार कारागारमै रहेको बेला उनले नाउपा गठन गरेका थिए ।

सो पार्टीको संरक्षकमा उनी आफै बसेका थिए भने अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ बसेकी थिइन् ।  कानुनीरुपमा आफूले नेतृत्व गर्न नमिलेपछि उनी संरक्षकको रूपमा बसेर श्रीमती रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ता भएको थियो ।

नाउपा गठनपछि सो पार्टी प्रतिनिधिसभा निर्वाचनमा चार सिटसहित राष्ट्रिय पार्टी बन्न सफल भएको थियो । तर पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद उत्कर्षमा पुगेको थियो । यहाँसम्म श्रेष्ठ र चौधरीको समूह नै फरक फरक कित्तामा उभिएको थियो ।

चौधरीले आफैँले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको प्रतिक्रिया दिएका छन् । जेनजी युवा आन्दोलनलाई नैतिक रूपमा समर्थन जनाएका रेशमले आन्दोलनको ल्याएको नयाँ राजनीतिक परिवर्तनलगत्तै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामको नयाँ पार्टी घोषणा गरेको बताएका छन् । 

नयाँ पार्टी गठनका सम्बन्धमा उनले भने, ‘धेरै विवाद भयो । विचार धेरै स्थापित भएनन् । कहिल्यै केन्द्रीय समितिको बैठक पूर्णरुपमा नबस्ने, कहिले के नहुने, कहिले के नहुने । यो सबै विवादबाट टाढा हुन हो । हामीले जेनजीको आन्दोलनप्रति आंशिक समर्थन जनाएका थियौँ । शान्तिपूर्ण राजीनामा दियौँ । फेरि भोलिपल्ट राजीनामा थुतेर संसद् स्थापनाको निर्णय गर्दिने । यसरी रहनुभन्दा इमानदारीपूर्वक बस्नु जाति ।’

बलिदानको जगमा आफैँले स्थापना गरेको पार्टी छाड्दा आफूलाई एकदम दुःख लागिराखेको उनले बताए । उनले भने, ‘आफैले गठन गरेको पार्टीमा अटाउनै सकिएन । जसलाई स्थापना गरेँ २१ जनाबाट, तर मैले नै उनीहरूबाट लात्ती र जवाफ खानु परेको छ । कसैले भुत्ल्याएको छ । कसैले लुछेको छ । त्यसकारण रहिरहन उचित लागेन ।’

नयाँ पार्टीमा अहिलेका लागि लगभग ७ जना जति डाक्टरहरू र १२–१५ जना इन्जिनियरहरू रहेको र त्यत्तिकै संख्यामा कानुनविदहरु,  नाउपाका जनप्रतिनिधिहरू, नाउपाका संस्थापक केन्द्रीय सदस्यहरू पनि रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?