राष्ट्रपतिद्वारा बाल दिवसको शुभकामना

लोकपथ
315
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। यस वर्षको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी तय गरिएको छ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा ध्यान दिँदै आवश्यक लगानी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमा सबै निकायहरूको एकीकृत भूमिका आवश्यक हुने बताए । 

‘बालबालिकाको भविष्य सुरक्षित बनाउन सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, खोप र बालमैत्री स्वास्थ्य संस्थाको प्रबन्ध अनिवार्य छ,’ सन्देशमा भनिएको छ। राष्ट्रपति पौडेलले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित हुने अवस्थाले सबै सरोकारवालाको ध्यानाकर्षण गर्नुपर्ने बताए ।

बालबालिकामाथि हुने सबै किसिमका हिंसा, अमानवीय व्यवहार तथा दुव्र्यवहार रोक्न राज्य, समाज, अभिभावक र संस्थाहरूले समान रूपले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिँदै उनले यस दिवसले बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि सम्बद्ध सबै पक्षलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?