काठमाडौं र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

लोकपथ
189
Shares

कर्णाली । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट–३ का १७ वर्षीय मनिष विष्ट र वीरेन्द्रनगर–९ सुर्खेतका ३१ वर्षीय गणेश नेपाली रहेका छन् ।

विष्ट नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बाल सुधार गृहबाट भदौ २५ गते फरार भएका थिए भने नेपाली काठमाडौं डिल्लीबजार कारागारबाट भदौ २४ गते भागेका थिए । उनीहरूलाई प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला कारागार सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, पर्वत जिल्लाको कारागारबाट आन्दोलनकै बेला भागेका १९ कैदीमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी १४ जनालाई समयमा नै प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रविन विष्टले जानकारी दिए ।

उनका अनुसार अदालतबाट कैद सजाय भुक्तान गर्नुपर्ने भएकाले ढिलाइ गर्दा थप मुद्दा खेप्नुपर्ने, सजाय लम्बिने र कानुनी रूपमा झनै अप्ठ्यारोमा पर्न सक्ने भएकाले आत्मसमर्पण गर्न आग्रह गरिएको हो ।

प्रहरीले कारागारबाट फरार भएका कैदीहरूले समाजमा थप अपराध गर्ने जोखिम रहने भन्दै कुनै शंका लाग्ने गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने र उनी सुरक्षित रहने पनि प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?