जेनजी भन्छन्– ‘देशले नयाँ अभिभावक पाएको छ, अब हामी विदेश जान नपरोस्’

लोकपथ
203
Shares

 काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४) अनुसार शुक्रबार उनलाई नियुक्त गरेका हुन् । 

नवनियुक्त प्रधानमन्त्री कार्कीको नेतृत्वलाई नागरिकले मुलुकको वर्तमान परिस्थितिबाट निकासको लागि सकारात्मक विकल्पको रूपमा लिएका छन् । 

युवा नेता अमृत चापागाईँले विगत एक दशकदेखि सत्तामा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु विजय भएको बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान र देश प्रेम भएका व्यक्तिलाई नेतृत्वमा राख्नु सकारात्मक सन्देश भएको धारणा व्यक्त गरे। उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरू थिएन । तर अब आउने चुनौतीसँग जुध्न प्रधानमन्त्री कार्की तयार हुनुपर्छ ।’

युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै, नयाँ नेतृत्वबाट मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । उनले युवाहरूको पलायन रोक्न मध्यावधि निर्वाचनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

राष्ट्रपतिको सिफारिसमा कार्की प्रधानमन्त्री नियुक्त भएपछि संसद् विघटन गरिएको छ र फागुन २१ गते नयाँ प्रतिनिधि सभा चुनावको मिति तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?