कांग्रेसले भन्यो–‘सहमति पूर्वक समाधान सम्भव थियो, तर संविधान विपरीत निर्णय भयो’

लोकपथ
1.4k
Shares

काठमाडौं  । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् प्रतिनिधि सभा विघटन र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयलाई संविधान विपरीत भएको भन्दै विरोध जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस कदम लोकतन्त्रका लागि खतरापूर्ण भएको ठहर गरेको छ । 

बैठकले भदौ २३ र २४ गतेका आन्दोलनमा भएका अप्रिय घटनाहरूको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनुपर्ने र संसद्ले निर्माण गरेको संविधानको रक्षा गर्नुपर्ने जोड दिएको छ ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले गरेको यो प्रस्तावमा सबैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो। यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदा रहँदै सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ ।’

बैठकले जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार सुनिश्चित गर्नुपर्ने र सिंहदरबारसहित जलेका संरचनाको शीघ्र पुनर्निर्माणका लागि योजना बनाउने निर्णय पनि गरेको छ ।

कांग्रेसले अब पार्टी, अन्य राजनीतिक दल र नागरिक समाजसँग परामर्श गर्दै शान्ति, लोकतन्त्र र समृद्धितर्फ नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?