काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको कुटपिटलाई जघन्य अपराध भएको बताएका छन् ।
गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका प्रदर्शनकारीहरूले देउवा दम्पत्तिमाथि हातपात गर्दै कुटपिट गरेका थिए । घटनामा घाइते भएका दुवै जनाको हाल सुरक्षा निगरानीमा उपचार भइरहेको छ । प्रहरीले जानकारी दिएको छ कि प्रदर्शनकारीहरूले निवासमा आगजनी गरी घर ध्वस्त बनाएका थिए र भित्रका सरसामान समेत लुटपाट गरेका थिए ।
कोइरालाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र योगदान रहँदै आएको छ। उहाँ घरमै रहेका बेला पत्नीमाथि समेत गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु। यसको जति निन्दा गरे पनि कम हुन्छ ।’
यसअघि भदौ २४ गते प्रदर्शनकारीले कोइरालाको निवाससमेत जलाएका थिए । बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेको उक्त घरमा विभिन्न पुस्ताका कांग्रेस नेताहरू बस्दै आएका थिए ।
सो घटनाबारे भावुक हुँदै नेता कोइरालाले भनेका छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिँदैन। विपी विचार मर्न सक्दैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम लिँदैन। कोइराला निवासको खरानी विजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौँ ।’
कोइरालाले शनिबार जारी गरेको अपीलः
प्रिय साथीहरु
मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।
यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप “जेनजी” आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु ।
म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ ।
भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।
हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपथ्र्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।
साथीहरु,
लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरी एकपटक लोकतान्त्रिक इतिहासका ती योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।
मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तिव्र चाहना छ । हाम्रा युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन । कांग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
समयको पदचाप अनुरुप हामी हिड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्तावाट बाहिरिन वाध्य पार्यो । नेपाली समाज र यहाँका उर्जावान युवाहरु एकातिर छन, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरु भए, हामी चुक्यौं । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं ।
साथीहरु,
जसरी देशमा नयाँ सम्भावनाहरु प्रकट भैरहेका छन । नयाँ घटनाहरु अगाडि आएका छन । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ । कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउने भनी म तपाईहरु विच दशैं लगत्तै देशव्यापी रुपमा आउनेछु ।
अन्तमा,
सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी ‘न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ । विपी कोइरालाको दिव्यवाणी सम्झौं “नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले” फेरी एकपटक देशभरी यसलाई बुलन्द गरौं ।
विपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको “कोइराला निवास“ जहाँ म बस्थें । जहाँ हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको थियो । लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाईएको छ ।
कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।
डा शेखर कोइराला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया