काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नयाँ सरकार गठन र संसद् विघटनलाई वर्तमान परिस्थितिमा ‘दोस्रो राम्रो विकल्प’ भएको बताएका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै भट्टराईले भने, ‘हामीले चाहेअनुसार उत्तम त नभए पनि दोस्रो राम्रो विकल्प यही हो । आन्दोलनकारीहरूसँग सहमति गरेर संविधान संशोधनपछि चुनावमा जान पाए अझ राम्रो हुन्थ्यो । तर आन्दोलनकारीले नमानेपछि र पुराना दलहरूले समय खेर फाल्ने देखिएकाले अहिले अपनाइएको बाटो नै उपयुक्त मानिएको हो ।’
उनका अनुसार राष्ट्रपतिले संविधानले दिएको अधिकार प्रयोग गरेर संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्नु र त्यसकै सिफारिसमा संसद् विघटनसहित निर्वाचन घोषणा गर्नु उचित निर्णय हो ।
भट्टराईले यो घटनालाई नेपालको इतिहासमा अर्को महत्त्वपूर्ण मोडका रूपमा चित्रण गर्दै वैकल्पिक राजनीति चाहने सबैलाई नयाँ बृहत् ध्रुवीकरणतर्फ लाग्न अपिल गरेका छन् ।
शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नयाँ सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते चुनाव मिति पनि घोषणा गरिएको छ ।
यसअघि ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । आन्दोलन दमनका क्रममा १९ जनाको ज्यान गएपछि सुरु भएको विद्रोहमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने कैयौँ घाइते उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया