प्रधानमन्त्री नियुक्तिपछि मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको सिफारिस हुने

लोकपथ
6.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि मात्रै संसद् विघटनको सिफारिस हुने भएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलपछि यस्तो सहमति भएको हो ।

गत सोमबार र मंगलबार जेनजी युवाहरूको प्रदर्शन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न बाध्य पारेका थिए । देशमा भ्रष्टाचार बढेको भन्दै त्यसको नियन्त्रण गर्न र गैर दलीय व्यक्तिबाट प्रधानमन्त्री नियुक्ति गरी भ्रष्टाचारको छानबिन गर्न जेनजी युवाहरूले माग गरेका थिए ।

जेनजी युवाहरूकै प्रस्ताव अनुसार शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै छन् । कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्ने पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको प्रस्ताव लगिनेछ । प्रधानमन्त्रीको प्रस्ताव अनुसार राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।

कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न खोजिएको बुझिएको छ । संविधानको धारा ६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ ।

सोही धाराको उपधारा १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने तथा राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । सोही धारालाई आधार लिई कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न खोजिएको हो ।

यसअघि संसद् विघटन गरेर प्रधानमन्त्री नियुक्त गर्ने कि प्रधानमन्त्री नियुक्त गरेर संसद् विघटन गर्ने भन्ने सम्बन्धमा विवाद भएको थियो । यद्यपि नयाँ धाराबाट प्रधानमन्त्री नियुक्त हुने भएपछि नवनियुक्त प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न सहमति जनाएकी हुन् । त्यसपछि अहिले केही बेरमा राष्ट्रपति कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ खुवाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?