काठमाडौं । कोभिड–१९ महामारीका कारण धरासायी बनेको पर्यटन व्यवसाय लयमा फर्कन नपाउँदै जेनजी आन्दोलनका कारण संकटग्रस्त अवस्थामा पुगेको छ ।
२३ र २४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनको कारण मुलुकमा उत्पन्न परिस्थितिले विदेशी पर्यटक र पर्यटन व्यवसायीहरु प्रभावित भएका छन् ।
पोखराका पर्यटन व्यवसायीहरुले आन्दोलनका क्रममा भएको विध्वंसका कारण विदेशी पर्यटक त्रसित भएको तथा व्यवसायमा प्रत्यक्ष असर परेको बताएका छन् । पोखरा लेक साइडका पर्यटन व्यवसायी भूपेन्द्र गौतमले पर्यटकको आगमन हुने समयमा संकटग्रस्त स्थिति सिर्जना हुँदा पर्यटन व्यवसाय थप संकटतर्फ गएको बताए ।
उनले जेनजी पुस्ताले मुलुकमा विद्यमान समस्या समाधान गर्नको लागि गरेको पहल स्वागतयोग्य भए पनि आन्दोलनको क्रममा भएको क्षतिले मुलुक दिशाहीन अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । अबको सरकार राजनीतिक दलहरुको सहभागिताबिना गठन गर्नुपर्नेमा पनि उनको जोड छ । संविधानको जगमा उभिएर मुलुकलाई निकास दिने गरी सरकारको नेतृत्व जेनजी पुस्तालाई सुम्पिन समेत उनले माग गरे ।
पर्यटन व्यवसायी तेज निधी अधिकारीले जेनजी पुस्ताको आन्दोलनमा आफूहरुको सहयोग रहेको भए पनि आन्दोलनको नाममा मच्चाइएको विध्वंस स्वीकार्य नभएको बताए । उनले राज्यका कुकृत्यविरुद्ध आम नागरिक एक ठाउँमा भए पनि आन्दोलनको क्रममा भएको धनजनको क्षतिले मुलुकलाई धेरै वर्ष पछाडि धकेलिदिएको बताए । उनले २४ भदौमा स्थितिलाई सामान्य बनाउन नसक्नु राज्य संयन्त्रको कमजोरी भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया