काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजीको आन्दोलनका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने जोड दिएको छ ।
शुक्रबार पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्ताबेज नष्ट भएको आरोप लगाइएको छ ।
पार्टीले आन्दोलनभित्र प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंस गर्दै बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास गरेको पनि जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहना यो आन्दोलनले प्रकट गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका ऐतिहासिक बलिदानीपूर्ण आन्दोलनहरूको निरन्तरता आजको आन्दोलनमा पनि देख्न सकिन्छ ।’
माओवादी केन्द्रले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई स्वीकार्दै गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएको छ । पार्टीले संघीय संसदबाट आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने वैधानिक मार्ग अपनाउनुपर्ने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेटेर नयाँ सरकार निर्माण गर्नु अहिलेको उत्तम विकल्प भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा नयाँ सरकारको पहिलो प्राथमिकतामा स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु पर्ने, ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासनमार्फत नागरिकमा आशा जगाउने काम गर्नुपर्ने पनि जोडिएको छ । साथै आन्दोलनका क्रममा जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया