दाङ । सल्यानका पत्रकार नोखिराम थापामाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक थापामाथि कुटपिट गरेको आरोपमा शारदा नगरपालिका वडा नं.६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारी पक्राउ परेका हुन् ।
सल्यान प्रहरीले आज उनीहरूलाई पक्राउ गरी जिप्रकाको हिरासतमा राखेर अनुसन्धान थालेको सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार, भदौ २२ गते राति ९ बजे श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका थापालाई उनीहरूले कुटेका थिए । पत्रकार थापाका अनुसार केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार प्रकाशन भएपछि आफूलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता हुन् भने प्रमोद भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् । कुटपिटका क्रममा थापाको टाउको र आँखामा चोट लागेको छ।
स्रोतका अनुसार, बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेपछि बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएकाले उनीहरू आक्रमणको मुख्य कारण हुन सक्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया