काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले सचेततापूर्वक पाइला नचालेमा देश दुर्घटनामा पर्न सक्ने भन्दै सचेत गराएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जालमा लेख्दै उनले वर्तमान समस्याको समाधान मौजुदा संविधानबाटै खोज्न आग्रह गरे । संविधान मिचेर, लोकतन्त्र कुल्चिएर गरिने हरेक निर्णयले देशलाई द्धन्द्धमा लैजाने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
‘देशको इतिहासकै अभूतपूर्व संकटमा छ । परिस्थिति जटिल छ । सचेततापूर्वक पाइला चालेन भने देश सच्चिनै नसक्ने दुर्घटनामा फस्न सक्छ । देशको अस्मितामै चुनौती आउन सक्छ । यी बिन्दु हुन् बहसको बिन्दु !
अब रह्यो निकास के ? निकास संविधान भित्रैबाट खोज्नुपर्छ । यो संविधान फगत एक थान कागत को खोस्टो मात्र होइन सबै काम संविधानभित्रै हुनुपर्छ तर मान्छे स्वच्छ छवि र कञ्चन खोज्नुपर्छ । संविधान च्यातेर लोकतन्त्र कुल्चेर जनतालाई अपमान गरेर खोज्ने कुनै पनि निकासले अर्को द्वन्द्वको आमन्त्रण हुने छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ,’ उनले भने ।
त्यस्तै उनले अहिले देखिएका विकृति र विसंगतिहरुलाई हटाउन कांग्रेसीहरुबिच निर्मम समीक्षा र विश्लेषणको खाँचो रहेको समेत औँल्याएका छन् ।
‘इतिहासका हरेक युग परिवर्तन को संवाहक र नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सबै तहका साथीहरुले आजको विषम परिस्थितिलाई गम्भीर विश्लेषण र निर्मम समीक्षा गर्दै पार्टीका विकृति हटाउन व्यक्ति होइन विचार, शक्ति होइन सत्य, नेता होइन नीति र विधिलाई केन्द्रमा राखेर यो राष्ट्रिय संकट र लोकतन्त्रमाथि नै आएको संकटपूर्ण चुनौतीको स्थितिमा सबै विवादलाई पन्छाएर नेपाली कांग्रेसका सम्पुर्ण साथीहरु तन्, मन वचन र कर्मले एकतासाथ सबै दल र पक्ष हरुसाथ मिलेर सामाजिक एकता ,शान्ति र सदभावना निर्माणका साथै जन सरोकार सम्बोधन मा जुर्मुरिनी आवश्यक छ,’ उनले भनेका छन् ।
जेनजी समूहको आन्दोलन र त्यसपछिको भएका घटनाक्रम राजनीतिक नेतृत्वको आफ्नै गल्ती, कमजोरी र त्रुटीका कारण भएको औल्यांए । साथै आगामी दिनमा थप सशक्त भएर अघि बढ्न सकेमा मात्र लोकतन्त्र थप सुदृढ हुने विश्वास समेत व्यक्त गरे ।
‘हाम्रा आफ्नै गल्ती, कमजोरी, त्रुटि, अहंकार र समाजिक गतिशील यथार्थतालाई समयमै बुझ्न नसक्दा चिप्लिएका छौं । तर ससक्त र जीवित छौं । यसको गम्भीर विश्लेषण, निर्मम समीक्षा र सिंहावलोकनकासाथ गल्ती स्वीकार्नु र सुधार्नु अनिवार्य छ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया