‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : राजेन्द्र पाण्डे

लोकपथ
287
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’ले उठाएका मागहरू संवैधानिक दायराभित्रै पूरा गर्नुपर्ने बताएका छन् ।

पाण्डेले आज जारी विज्ञप्तिमा भनेका छन्, ‘जेनजी पुस्ताले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय वर्तमान संविधानभित्रै सम्बोधन गर्न सकिन्छ ।’

उनले लोकतन्त्रलाई कमजोर पार्ने वा अस्थिरता निम्त्याउने कुनै पनि प्रयासविरुद्ध सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

उक्त विज्ञप्तिमा पाण्डेले जेनजी पुस्ताको माग संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने पनि उल्लेख गरेका छन् । उनले राष्ट्रिय हितमा संसद विघटन वा संविधान खारेज गर्ने कुनै षड्यन्त्र विफल पार्न संवेदनशील रहनुपर्नेमा जोड दिंदै अन्तरिम सरकार निर्माणका लागि जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिहरूबीच सामूहिक छलफल आवश्यक रहेको बताए ।

साथै, पाण्डेले सामाजिक सञ्जाल, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रता जस्ता मौलिक हक र नागरिक अधिकार कायम राख्दै भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?