जापानमा सय वर्ष पुगेकाको संख्या झन्डै एक लाख, ९० प्रतिशत महिला

लोकपथ
413
Shares

टोकियो । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको संख्या झन्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो संख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रकाशित तथ्यांकले देखाएको छ ।

यो तथ्याङ्कले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा तीव्र बुढ्यौली र घट्दो जनसंख्याले उत्पन्न गरेको गम्भीर जनसाङ्ख्यिकीय सङ्कटलाई झल्काएको छ ।

सेप्टेम्बर १ सम्म देशमा ९९ हजार सात सय ६३ जना शतायु मानिस रहेका छन् । तीमध्ये चार हजार छ सय ४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत छ ।

जापानकी सबैभन्दा वृद्ध व्यक्ति नारा क्षेत्रमा बस्ने ११४ वर्षीया शिगेको कागावा रहेकी छिन् । उनी ८० वर्षसम्म प्रसूति–स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय थिइन् । 

‘घर–घरमा कल गर्ने क्रममा धेरै हिँड्ने गरेँ, जसले मेरा खुट्टा बलिया बनायो । यही मेरो जीवनशक्तिको आधार हो,’ कागावाले मन्त्रालयमार्फत भनिन् । उनी अझै टिभी हेर्ने, पत्रिका पढ्ने र सुलेखन अभ्यास गर्ने गर्छिन् ।

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भने बेलायती महिला एथेल क्याटरहम छिन् । उनी अगस्टमा ११६ वर्षकी भइन् । केही महिनाअघि ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि उनलाई यो उपाधि दिइएको हो ।

जापानमा वृद्ध जनसंख्या बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढेको छ भने सङ्कुचित श्रमशक्तिले त्यसलाई धान्न गाह्रो बनाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र जापानी नागरिकहरूको संख्या नौ लाखभन्दा बढीले घटेको थियो ।

प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपतकाल’ भन्दै जनसंख्या ह्रास उल्टाउन लचिलो कार्यसमय र निःशुल्क डे केयर—लागू गर्ने जस्ता परिवारमैत्री नीतिहरूको वाचा गरेका छन् । तर, अहिलेसम्म ती प्रयासहरूले उल्लेखनीय परिणाम दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?