काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलको घुसपैठ हुँदा मुलुकको उद्योग र व्यवसायमा ठुलो क्षति पुगेको भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।
व्यवसायीहरूको अनुसार, भ्रष्टाचार नियन्त्रण गर्ने जेनजी पुस्ताको माग जायज भए पनि आन्दोलनमा राजनीतिक हस्तक्षेपले निजी क्षेत्रलाई गम्भीर आर्थिक असर पुर्याएको छ। आन्दोलनको क्रममा लुटपाट र आगजनीबाट भएका क्षतिपूर्तिको जिम्मेवारी कसले लिनुपर्ने भन्ने विषयमा व्यवसायीहरू अन्योलमा छन् ।
न्युरोडका कपडा व्यवसायीहरूले दसैँको मुखमा व्यवसाय ठप्प भएको, भन्सारले नयाँ सामान ल्याउन नदिएको र राज्य संरचना समेत प्रभावित भएको बताएका छन् । एक व्यवसायीले भने, ‘जेनजीहरूको माग जायज थियो । तर राजनीतिक दलहरूको हस्तक्षेपले हामी व्यवसायीलाई ठुलो धक्का पुर्यायो। दसैँ नजिकिएको छ, अब कसले हामीलाई क्षतिपूर्ति दिने हो भन्न सक्ने स्थिति छैन ।’
व्यवसायीहरूले अन्तरिम सरकार गठन गरेर मुलुकलाई स्थायित्व र दिशामा अघि बढाउने उपायको आवश्यकता औँल्याएका छन् । अर्का व्यवसायीले भने, ‘सर्वसाधारण पनि पीडामा छन् । समयमै अन्तरिम सरकार गठन भएमा व्यवसायी र मध्यम वर्गले राहत पाउने थिए। संविधानअनुसार प्रत्यक्ष कार्यकारीको व्यवस्था नभएको विषयमा पनि ध्यान दिनुपर्छ ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन करिब ४८ घण्टा चलेको थियो । यस क्रममा करिब ३ दर्जन व्यक्तिको मृत्यु भएको र सिंहदरबारसहित राज्यका विभिन्न भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया