काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी समूहले अघि सारेको अन्तरिम सरकारको प्रधानमन्त्रीको उम्मेदवारप्रति पार्टीको समर्थन रहने जनाएको छ ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
‘सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ । सो उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राख्दछ,’ उनले भनेका छन् ।
त्यस्तै रास्वपाले आगामी ६ महिनाभित्र निर्वाचन गर्नेगरी अघि बढ्न समेत सुझाव दिएको छ ।
‘नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दछ । संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया