जेनजीको माग जनपक्षीय हो, तर लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गर्दैछन् : माधव नेपाल

लोकपथ
427
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी पुस्ताले उठाएका माग संविधान खारेजी र संसद् विघटन नभई लोकतन्त्रलाई अझ जनपक्षीय बनाउनका लागि भएको स्पष्ट पारेका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले भने, ‘जेनजी पुस्ताको माग लोकतन्त्र अन्त्य गर्ने होइन, तर लोकतन्त्र विरोधीहरूले घुसपैठ गरेर मुलुकलाई अस्थिर बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । संसद् विघटन र संविधान खारेज गर्ने खेल लोकतन्त्र विरोधीहरूको हो, यसबारे जेनजी पुस्ता सचेत रहन आवश्यक छ ।’

नेपालले लोकतन्त्र नै नष्ट भएमा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतासहित नागरिकका मौलिक हकसमेत खोसिने चेतावनी दिए । उनले भने, ‘लोकतन्त्र विहिन राज्यमा भ्रष्ट्राचार र कुशासनविरुद्ध आन्दोलन त के, बोल्नसम्म नपाइने अवस्था सिर्जना हुन्छ ।’

उनले जेनजी पुस्ताले उठाएका माग संविधान र संसदभित्रैबाट सम्बोधन गर्न सकिने बताए । ‘भ्रष्ट नेताहरूमाथि कारबाही गर्न सकिन्छ, उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिन्छ, जुन हाम्रो पार्टीले पहिलेदेखि नै माग गर्दै आएको हो,‘ विज्ञप्तिमा उल्लेख छ ।

नेपालले छिट्टै संविधान संशोधन गरेर ताजा जनादेशमा जाने र त्यसपछि सरकार सञ्चालन गर्न सकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?