काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकको विद्यमान परिस्थितिबाट संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिएपछिको घटनाक्रमबारे पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान र लोकतान्त्रिक विधिबाट निकास दिनुपर्ने बताएका हुन् ।
महासचिव पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानका मर्मअनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहल गर्न आग्रह गरे । उनले सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहले लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।
‘स्थानीय निकायहरूले निर्बाध सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ पोखरेलले भने, ‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै दलहरू संवादमा आउनु आवश्यक छ ।’
देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोड भइरहेकामा चिन्ता व्यक्त गर्दै पोखरेलले आपराधिक गतिविधि नियन्त्रण गर्न, नागरिकको सुरक्षामा ध्यान दिन र सार्वजनिक एवं निजी सम्पत्ति जोगाउन सुरक्षा निकायलाई आह्वान गरे ।
उनले भदौ २३ गतेको दुःखदायी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै भदौ २४ गते देशभर देखिएका आगजनी, तोडफोड र लुटपाटजस्ता अराजक गतिविधिको निन्दा गरे ।
त्यस्ता गतिविधि रोक्न सबै दल र जनतासँग एकताबद्ध भई डटेर उभिनुपर्ने उनले उल्लेख गरे । साथै, ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलको सरसफाइ, सामाजिक सद्भाव कायम राख्न र पीडित जनतालाई सक्दो सहयोग गर्न समेत उनले अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया