धादिङ । राजधानीका विभिन्न कारागारबाट भागेका ३५ जना कैदी बन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
जेन–जी आन्दोलनको अवसर छोपेर फरार भएका यी कैदी बन्दीलाई गजुरी चेक पोइन्टबाट पक्राउ गरिएको हो । बुधबार भने तीन जनालाई धादिङको गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिइएको थियो ।
केन्द्रीय कारागारबाट भागेका २१ जना, नक्खु कारागारका ९ जना, भीमफेदी कारागारका ४ जना र भद्र केन्द्रीय कारागारबाट १ जनालाई आज नियन्त्रणमा लिइएको छ । यसबारे धादिङस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिएका छन् ।
पृथ्वीराजमार्गका विभिन्न स्थानमा बुधबारदेखि नेपाली सेनाले निरन्तर जाँच–सोधीखोजी गर्दै आएको छ । साना र ठूला सवारीसाधनका साथै पैदल यात्रा गर्ने व्यक्तिहरूको समेत पहिचान गरी आवश्यक कारबाही गरिएको कर्णेल श्रेष्ठले बताए ।
आज नियन्त्रणमा लिइएका ३५ जनालाई सेनाले गजुरीस्थित भैरबनाथ गणमै राखेको छ र उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको छ । परिस्थितिजन्य अवस्थालाई मध्यनजर गर्दै फरार कैदी बन्दीलाई स्वतस्फूर्त आत्मसमर्पण गर्न पनि नेपाली सेनाले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया