काठमाडौं । नेपालका बौद्धिक समूहहरुको जमात ‘बृहत नागरिक आन्दोलन’ ले जेनजी आन्दोलनका नाममा राजतन्त्र फर्काउने प्रयास भइरहेको आशंका व्यक्त गरेको छ ।
पछिल्लो घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले राजतन्त्र स्वीकार नहुने र आगामी बाटो संविधान अनुसार हुने बताए ।
‘अहिले के स्पष्ट हुँदैछ भने जेनजी आन्दोलनका शहीदहरुको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्म निरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पट्टकै स्वीकार्य छैन । जेनजी आन्दोलनको म्याण्डेट र बलिदानीहरुको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो, न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो । यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिलेको तत्कालको सबैभन्दा महत्वपूर्ण चुनौती हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।
जेनजी आन्दोलनमा घुसपैठ गरेर उदण्ड मच्चाउने र जेनजीका नाममा सेनाको आतिथ्यतामा वार्ता गर्ने जस्ता क्रियाकलापहरु असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको समेत बृहत नागरिक आन्दोलनको ठहर छ ।
त्यस्तै जेनजी समूहका केही पात्र र व्यक्तिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई आधार मानिरहेको तर बालेनले समेत सोही अनुसारको नेतृत्व चयन चाहेको भए त्यसलाई समेत सच्याउन आग्रह गरे ।
साथै वर्तमान परिस्थितिलाई लयमा फर्काउनका लागि नेपालको संविधान ०७२ लाई मुख्य केन्द्र बनाएर अघि बढ्न समेत सुझाव दिइएको छ ।
‘यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै ०७२ को नेपालको संविधान हो । त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यक्ता हो । अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएरु संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कताका साथ अघि बढ्नुको विकल्प छैन,’ बृहत नागरिक आन्दोलनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया