काठमाडौं । जेनजी आन्दोलनका क्रममा युवाले उठाएका माग र उपलब्धिलाई संस्थागत गर्दै देशमा शान्तिपूर्ण सुधार र समृद्धिको वातावरण बनाउन निजी क्षेत्रका विभिन्न संघ–संस्थाले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान) र इप्पानले सार्वजनिक सम्पत्ति तथा व्यावसायिक जगतमा भएको क्षति प्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षमा संयम र सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले युवाको चासोप्रति संवेदनशील हुन, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोग सुनिश्चित गर्न सरकार, राजनीतिक दल र सरोकारवालामा आग्रह गरेको छ । महासंघले ‘सामाजिक न्यायसहित उच्च आर्थिक वृद्धिको वातावरण सिर्जना गरेर मात्र उच्च ज्यालासहितको रोजगारी सम्भव छ’ भन्दै समृद्धि तर्फको यात्रा संयमित संवाद र सहकार्यबाट अघि बढाउन सुझाव दिएको छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘जेनजी पुस्ताले गरेको योगदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नुपर्छ। सही नेतृत्व चयन गरी गलत क्रियाकलाप गर्नेहरूलाई दण्डित गरौँ ।’
होटल संघ नेपालले निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटक व्यवस्थापन प्रभावित भएको भन्दै सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ । संघले पर्यटकहरूको सुरक्षाका लागि होटल र पर्यटन बोर्डसँग सहकार्य भइरहेको जानकारी दिएको छ ।
इप्पानले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवामाथि गोली चलाउनु राज्यको प्रत्यक्ष उल्लङ्घन हो। संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन हुनुपर्छ ।’ इप्पानले ऊर्जा क्षेत्रमा लगानी, रोजगार र पूर्वाधार विकासमा युवाको निराशा बढाउने भ्रष्टाचार र कुशासन अन्त्य गर्न पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया